स्पेनिस ला लिगा : एथ्लेटिको बिल्बाओद्वारा गेटाफे पराजित

होमल्याण्ड खबर

२०७७ माघ १३ गते, मंगलवार ०९:२७ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओ विजयी भएको छ । सोमबार राति भएको खेलमा गेटाफेलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै बिल्बाओ विजयी भएको हो ।

बिल्बाओका लागि राहुल गार्सियाले दुई तथा यारे अल्भारेज, एलेक्स बेरेनगुएर र ओस्कर डि मार्कोसले एक–एक गोल गरेका थिए । गेटाफेका मार्क कुकुरेल्लाले एक गोल गरेका थिए ।

खेलको पहिलो मिनेटमै गेटाफेका कुकुरेल्लाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, १२औँ मिनेटमा बिल्बाओका गार्सियाले गोल गर्दै खेललाई १–१ गोलका बराबरीमा ल्याए ।

त्यसपछि  दोस्रो हाफको ५०औँ मिनेटमा अल्भारेजले गोल गर्दै बिल्बाओलाई २–१ को अग्रता दिलाए । यस्तै, ६१औँ मिनेटमा गार्सियाले व्यक्तिगत दोस्रो गर्दै बिल्बाओलाई ३–१ को अग्रता दिलाए । ७५औँ मिनेटमा बेरेनगुएरले गोल गरेपछि बिल्बाओ ४–१ गोलले अगाडि बढ्यो । त्यसपछि ८२औँ मिनेटमा मार्काेसको गोलसँगै बिल्बाओ ५–१ को फराकिलो अन्तरले विजयी भयो ।

यो जितसँगै बिल्बाओ २४ अंकका साथ लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ । २३ अंक भएको गेटाफे १३औँ स्थानमा छ ।