८ जेष्ठ २०८३, शुक्रबार
सवारी चालकको अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि अब एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने भएको छ । अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न यातायात व्यवस्था विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्नेहुँदा साधारण सेवाग्राहीले अनलाइन आवेदन दिने प्रयास गर्दा समस्या आएको भन्दै विभागले नयाँ व्यवस्था ल्याएकाे हाे ।
विभागका अनुसार यो नीति लागू भएसँगै अब एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन सकिने छ ।यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मेसिन’ भन्दै नोटिफिकेसन देखाउँछ । विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार हाल लकडाउनका कारण लाइसेन्स लिन नपाएका ९ लाख बढी सेवाग्राहीहरु लाइसेन्सको अनलाइन आवेदन दिने तयारीमा रहेको अनुमान छ । पछिल्लो समय ठूलो संख्यामा सेवाग्राहीहरुले लाइसेन्सको आवेदन दिइसकेकोले सर्भरमा विस्तारै चाप कम हुँदै जाने उनले जानकारी दिए ।


विभागका महानिर्देशक गगनबहादुर हमालका अनुसार पछिल्लो समय दलालहरुले नै लाइसेन्सको अनलाइन आवेदन सर्वसाधारणसँग पैसा लिएर गर्ने गरेकाले यस्तो व्यवस्था गर्नुपरेको हो । उनले विचौलियाले वेबसाइटमा एकैपटकमा धेरै आवेदन लोड गर्ने गरेकाले सर्भरमा समस्या उत्पन्न भएकाले सर्वसाधारणलाई समस्या परेको भन्दै विभागमा गुनासो आएपछि यस्तो कदम चालेको बताए ।