३ महिनाभित्र सबै नेपालीलाई खाेप लगाइसकिन्छ : प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७७ माघ १४ गते, बुधबार ११:३४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री अ‍ोलीले भारत र अन्य मुलुकसँग पनि कोरोना बिरुद्धको खोप आयात गर्नेबारे छलफल भइरहेको र  ३ महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने दाबी गरे ।

‘३ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै सबै नेपालीलाई नि:शुल्क रूपमा खोप लगाइन्छ ।’ खाेप अभियानबाट काेराेनाविरुद्धकाे लडाइँलाई उचाइमा पुर्‍याएकाे पनि उनले बताए । ‘खोप अभियानबाट कोभिड १९ विरुद्धको लडाइँलाई माथि उठाएका छौँ । गएको एक वर्ष अत्यन्तै कठिन भएको छ । महामारीका रुपमा आएको कोभिडबारे यसअघि कसैलाई पनि ज्ञान नभएपनि यसको सामना गर्न हामी अघि बढिरह्यौँ,’ उनले भने ।

उनले  अग्रपंक्तिमा रहेर खटिने स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै आफू खतरा मोल्न चाहेर पनि देश हितमा लाग्नेहरुको कठिन घडीमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए ।

कोभिड सुरु भएपछि सरकारले जनताको जीवन पहिलो कुरा हो भन्ने कुरालाई ध्यान दिँदै रोग र भोकबाट मर्न नदिने नीति लिएकाले त्यति ठूलो क्षति नभएको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालीहरुमा रोगसँग लड्ने क्षमता उच्च रहेकै कारण कोरोना भाइरसबाट अरु देशको तुलनामा मानवीय क्षति कम भएको बताए ।

९८ प्रतिशतभन्दा बढी मानिस स्वस्थ भएको र ०.७ प्रतिशत मानवीय क्षति भएको बताए । दुनियाँको तुलनामा मानवीय क्षति कम भए पनि अझै सतर्क भएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीले बताए ।

‘पहिला जनताको जीवन बचाउन प्राथमिकता दिनुपर्छ भनेर गरेको प्रयासले अर्थपूर्ण परिणाम दिएको छ’, प्रधानमन्त्रीले भने, ‘हाम्रो खानपान, भोजनआदिले रोग प्रतिरोध क्षमता बढाउँछ । यसलाई आगामी दिनमा पनि ध्यान दिन जरुरी छ ।’

ओलीले देशमा कोरोना खोप लगाउने अभियान सुरु गरिए पनि सतर्कता अपनाउन नछाड्न आमनागरिकलाई आग्रह गरेका छन् । उनले मास्क लगाउने, दूरी कायम गर्ने, सरसफाइजस्ता कुरामा ध्यान दिन आग्रह गरे ।

सरकारले आज १२ हजार जनालाई कोरोना खोप लगाउने तयारी गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई खोप लगाइने सरकारले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप दिएर सहयोग गरेकोमा भारत सरकार र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

ओलीले भारतबाट उचित मूल्यमा खोप खरिद गर्नेबारे पनि छलफल भइरहेको बताए ।