नेपालमा प्रयोग गरिएको कोरोना खोपलाई डब्लूएचओको अनुमति

होमल्याण्ड खबर

२०७७ फाल्गुन ४ गते, मंगलवार १२:५१ मा प्रकाशित

नेपालमा प्रयोग गरिएको कोरोना भाइरस विरुद्धको खोप (कोभिशील्ड)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्लूएचओले कोभिशील्डसहित कोरोना भाइरसविरुद्धको अर्को एक खोपलाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भारतको सीरम इन्स्ट्चिूट अफ इन्डियाको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एककेबायोले उत्पादन गरेको खोपलाई डब्लूएचओले आपत्कालीन प्रयोगमा ल्याउन सकिने गरी सूचीकृत गरेको हो ।

अब ती खोपहरु कोभ्याक्समार्फत् वितरण गर्न योग्य भएका छन् । कोभ्याक्सअन्तर्गत नेपालले फागुन महिनाभित्रै साढे २२ लाख मात्रा कोभिशील्ड भ्याक्सिन प्राप्तप गर्ने जनाइएको छ ।

भारत सरकारले अनुदानमा १० लाख मात्रा (डोज) कोभिशील्ड उपलब्ध गराएपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरु भइसकेको छ ।

ती खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता एवम् भण्डारण अवस्था अध्ययन ४ हप्तामा गरिएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार ती खोपहरुको प्रभावकारिकता ६३ प्रतिशत पाइएको छ । यी खोपहरुलाई १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने पनि जनाइएको छ ।

डब्लूएचओले यसअघि नै सन् २०२० को डिसेम्बर ३१ मा फाइजर/बायाएनटेक खोपलाई यस्तो अनुमति दिइसकेको छ ।