सरकारले भारतसँग किनेको १० लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

होमल्याण्ड खबर

२०७७ फाल्गुन ९ गते, आईतवार १५:४३ मा प्रकाशित

सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ।

आज (आइतबार) दिउँसो काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर इन्डियाको विमान १० लाख डोज खोपसहित अवतरण भएको हो।

सरकारले सेरम इन्स्चिट्युटसँग फागुन ५ गते २० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज आजआइपुगेको हो । बाँकी १० लाख डोज पनि छिट्टै लाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख डोज ल्याइएको बताए ।

आज आइपुगेको खोप टेकुस्थित कोल्डरूममा भण्डारण गरी राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त खोप समुदायस्तरमा फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो चरणमा ६० वर्ष उमेर भन्दा माथिका व्यक्तिलाई दिइने छ ।

मन्त्रालयले उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने जनाएको छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो भने चीनले ५ लाख डोज खोप अनुदानमा दिएको छ ।