७ जेष्ठ २०८३, बिहीबार
काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरी बर्ड फ्लू देखिएको छ ।
बर्ड फ्लू देखिएपछि तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।


स्थानिय विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।
फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिए । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।
फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताए । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिका–१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो।
काठमाडौंसहति सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन–कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्यन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।
बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे छलफल भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।