७ जेष्ठ २०८३, बिहीबार
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइआइपुगेको छ ।
खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।


शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो चरणमा आज कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिएका थिए । उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।
यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो । यो खोप नेपालले अनुदानमा पाएको हो ।
विश्व स्वास्थ्य संगठनले गरिब तथा अति कम विकसित राष्ट्रहरूलाई समेत खोपको सामान वितरण होस् भनेर गाभी संस्थासँग मिलेर कोभ्याक्स कार्यक्रम गठन गरेको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।
सरकारले आजदेखि दोस्रो चरणको खोप अभियान सुरु गरेको छ ।
दोस्रो चरणको अभियानमा देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिका व्यक्तिलाई खोप दिइने छ । खोप विहान १० देखि अपराह्न ४ बजेसम्म विभिन्न खोप केन्द्रहरुमा लगाइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ ।
यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।