यस वर्षको होली पर्व आजदेखि सुरु

होमल्याण्ड खबर

२०७७ चैत्र ८ गते, आईतवार ११:३४ मा प्रकाशित

रंगहरूको पर्व होली विधिवत रुपमा आजदेखि सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आज विहान ८ बजेर २६ मिनेटको शुभसाइतमा होलीको चीर ठड्याइएसँगै देशभर होली पर्व सुरु भएको हो ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आजदेखि विधिवत सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

चन्द्रमास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष काठमाडौं उपत्यका तथा पहाडी भेगमा चैत १५ गते मनाईदैछ । तराई भेगमा भने भोलिपल्ट चैत १६ गते मनाइने छ ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ । बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरमा करिब ३० फिट अग्लो चीर ठड्याउने चलन छ ।

रंगीचंगी कपडाहरू बाँधिएको तीन छत्रे चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने छ ।