अब अनलाइनमार्फत विदेशी वस्तु तथा सेवा खरिद गर्न राष्ट्र बैंकले छुट दिने

होमल्याण्ड खबर

२०७७ चैत्र ९ गते, सोमबार ११:२१ मा प्रकाशित

अब अनलाइनमार्फत विदेशी वस्तु तथा सेवा खरिद गर्न राष्ट्र बैंकले छुट दिने भएकाे छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापत भुक्तानी प्रयोजनका लागि ५०० डलरसम्मको सटही सुविधा पाइने भएको हाे।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत यस्तो सुविधा दिने घोषणा गरेको छ। वार्षिक अधिकतम ५०० डलर वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने छ।

अहिले पनि विभिन्न माध्यमबाट यसरी विदेशी उत्पादन तथा सेवा खरिद गरेर भुक्तानी भइरहेको छ। त्यसलाई औपचारिक माध्यमबाट गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ। कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा त्यो बराबरको अन्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ।

प्रयोगकर्ताले एकै पटक वा पटक-पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन्। यो प्रयोजनका लागि कार्ड जारी भई ‘एक्टिभेटेट’ भएको दिनबाट समयावधि गणना शुरु हुनेछ।