१० मंसिर २०८१, सोमबार
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष मार्च २४ का दिन मनाउने गरिन्छ । यस वर्ष यो दिवसको नारा ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने रहेको छ ।
क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने सरुवा रोग हो । क्षयरोगलाई रोकथाम तथा उपचार गर्न सकिने भएपनि यो रोग प्रमुख जनस्वास्थ्य समस्याहरु मध्ये एक जटिल समस्या हो ।
क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाछियु गर्दा, थुक्दा यसका जीवाणुहरु निस्कन्छन् र हावाको माध्यमबाट अरु निरोगी व्यक्तिहरुमा समेत सर्ने गर्दछन् । क्षयरोगका जिवाणुले शरीरको फोक्सोमा बढि असर गर्दछ तर जिवाणुले शरिरका अन्य अंगमा पनि असर गर्न सक्दछ ।
यो रोग लाग्दा लामो समय सम्म खोकी लाग्ने, खकारमा रगतको मात्रा देखा पर्ने, ज्वरो आउने, राति पसिना आउनुका साथै तौल पनि कम हँुदै जाने लक्षण देखा पर्दछन् । समयमै रोगको पहिचान हुन सकेमा औषधी सेवनबाट यो रोग निको चिकित्सकहरुको भनाइ छ ।
विश्वमा प्रतिवर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेका छन् भने २० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै हरेक वर्ष ४४ हजारको हाराहारीमा नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने वर्षेनी ५ देखि ७ हजार नेपालीको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांक रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी हुने दर १ दशमलव ६ प्रतिशतले बढिरहेको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार क्षयरोग पत्ता लागेका मध्ये अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशतभन्दा बढि फोक्सोको र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।
क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार अहिले नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९ सय ५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७ सय ६५ प्रयोगशाला र ७२ जिनएक्सपर्ट परीक्षण केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आएको छ ।
नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।