९ मंसिर २०८१, आईतवार
अबको तीन दिनपछि मेलम्चीको पानी काठमाडौंका घरघरमा आउने भएको छ । आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौंका धारा–धारामा पठाउन लागिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको हाे ।
मेलम्चीको पानी गएको फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । आयोजनाका अनुसार यही चैत १५ गतेदेखि पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्याइने भएको हो ।
काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उनले भने, ‘हामीले पहिलो साता साढे आठ करोड र त्यसपछि साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउनेछौँ। अहिलेसम्म ८० हजार धारामा पाइपलाइन जडान गरिएको छ । कुल एक लाख १० हजार धारामा पानी जोड्ने लक्ष्य थियो । अझै तीस हजार धारामा पाइपलाइन जडान गर्न बाँकी छ ।’
मेलम्चीको पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याइए पनि त्यसको परीक्षण नभएको उनले बताए ।