१ महिनादेखि बेपत्ता झा दम्पतीको जमिनमुनि गाडिएको अवस्थामा शव फेला

होमल्याण्ड खबर

२०७७ चैत्र १२ गते, बिहीबार १५:४८ मा प्रकाशित

१ महिनादेखि बेपत्ता महोत्तरीका झा दम्पतीको बिहीबार शव फेला परेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् ।

डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो । ‘बाटो छेउमै जमिनमुनि ५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला परेको छ,’ । सिंहका अनुसार झा दम्पतीको शव उनीहरुको घरभन्दा ३ किलोमिटर पर दक्षिणतर्फ फेला परेको हो । प्रहरीको सर्च अपरेशनका क्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो नेतृत्वको टोलीले झा दम्पतीको शव फेला परेको हो । गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए । झा दम्पतीको अपहरण गरेको अभियोगमा केही दिन अगाडि मात्रै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले मुसाफिरका छिमेकी रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।