चीनलेले दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

होमल्याण्ड खबर

२०७७ चैत्र १६ गते, सोमबार १०:४९ मा प्रकाशित

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आइपुगेको छ ।

आज बिहान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज ८ लाख डोज खोपसहित अवतरण भएको हो।

त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ।

चीन सरकारले उपलब्ध गराएको खोप कहिलेदेखि र कसलाई दिने भन्ने अहिले नै यकिन भइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि, भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ ।