७ जेष्ठ २०८३, बिहीबार
केही दिनयता राजधानी लगायत देशका विभिन्न ठाँउमा ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन् ।
बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज सीओपीडी का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ ।
‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा। रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’
उनले धुम्रपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारको बताए । तुवाँलोको माध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठुलो वा सानो सुष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ । त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा.चोखानीको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ ।
पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ ।
हावामा भएका अति सुष्म प्रदुषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गररे मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पु¥याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए ।