९ मंसिर २०८१, आईतवार
सरकारले ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगम कार्यालयले मंगलबार सूचना सार्वजनिक गर्दै सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम १ वर्षका लागि ११ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा मकवानपुरका हेटौँडा कन्स्ट्रक्सन, विनायक कन्स्ट्रक्सन, शर्मिला निर्माण सेवा, आर।एस। निर्माण सेवा र बि ब्रदर्स निर्माण सेवा छन् । त्यस्तै बाराको जनजागृति कन्स्ट्रक्सन र विशाल कन्स्ट्रक्सन तथा पर्साका अभय कन्स्ट्रक्सन र शिव निर्माण सेवा, रौतहटको सरस्वती कन्स्ट्रक्सन तथा काठमाण्डौको नयाँ युग निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ ।
यी ११ वटै कम्पनीलाई कालोसूचीमा राख्न सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोहीअनुसार सोमबारको निर्णयले कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।