७ जेष्ठ २०८३, बिहीबार
सरकारले नियमित अभियानअन्तर्गतको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन गर्ने भएको छ ।
कार्यक्रमअन्तर्गत ५९ महिनसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गरिनेछ ।


पछिल्लो समय पुनः कोरोना भाइरस संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै एक घण्टामा १० जना बालबालिका मात्रै उपस्थित हुने गरी व्यवस्था मिलाउन मन्त्रालयले सम्बन्धित प्रदेश कार्यालयहरुलाई भनेको छ ।
भिटामिन ‘ए’ खुवाउने स्थानमा सभडभाड नगर्न, अनिवार्य मास्क लगाउन, हात धुने व्यवस्था गर्न तथा स्यानिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ ।