स्वास्थ्य सतर्कता अपनाउन सिसिएमसीको आग्रह

होमल्याण्ड खबर

२०७७ चैत्र २९ गते, आईतवार १०:३२ मा प्रकाशित

कोरोनाको दोस्रो लहर फैलन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आग्रह गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरवारमा बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको हो ।

बैठकले संक्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (वेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न डीसीसीएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरूले व्यवस्था गर्ने भएका छन् ।

सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रिकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालका अनुसार बैठकमा पछिल्लो सङ्क्रमणको स्थिति तथा तयारीको विषयमा छलफल गरिएको र आमरूपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने भएको छ ।

कोरोनाको लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिनेछ । स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्न बैठकले आग्रह गरेको छ ।