काठमाडौंको गोंगबुस्थित गेष्ट हाउसमा पुरुष मृत फेला, २ जना पक्राउ

होमल्याण्ड खबर

२०७७ चैत्र २९ गते, आईतवार १३:३७ मा प्रकाशित

काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ । गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा शनिबार राति स्याङ्जा घर भइ नवलपरासी बस्दै आएका ३० वर्षीय नारायण घर्ती मगरको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

राती पौने १० बजे मृत भेटिएका उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको एसपी बस्नेतले बताए ।

मृतक घर्तीको शरिरमा बाहिरी चोट पटक नदेखिएले पोष्टमर्टमपछि मात्रै थप जानकारी आउने प्रहरीले जनाएको छ । उनी शनिबार गेष्ट हाउसको २०४ नम्बरको कोठामा राजु क्षेत्रीको नाममा प्रवेश गरेका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् । मृतकका परिवार काठमाडौं आउँदै गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।