७ जेष्ठ २०८३, बिहीबार
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै विद्यालयसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका छन् ।


‘विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु’ उनले अपिलमा भनेका छन् ।
यस्तै सहप्रवक्ता अधिकारीले काठमाडौं उपत्यकाकासहित देशका १४ जिल्ला कोरोनाबाट अति प्रभावित क्षेत्रमा रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।
अति प्रभावितमा परेका ती जिल्लामा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिन उनले अपिलमा भनेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५७ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
