देशका विभिन्न भागमा पहिरोले सडक अवरुद्ध

होमल्याण्ड खबर

२०७५ असार १५ गते, शुक्रबार ०५:४९ मा प्रकाशित

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अवरुद्ध भएको छ ।
दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।
उता कालिकोटको शुभकालिका गाँउपालिका २, गोगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प भएको छ । पहिरोले दैलेख, सुर्खेत, नेपालगञ्ज, जुम्ला, कालीकोटलगायतका स्थानतर्फ जाने र आउने सवारी साधन पूर्ण रुपमा प्रभावित भएका छन ।
प्रहरीले पहिरो हटाएर अवरोध खोल्ने प्रयास भइरहेको जनाएको छ ।
साँफे–मार्तडी सडक खण्डअन्तर्गत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।
वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
उनले बाटो खुलाउनका लागि सडक निर्माण गरिरहेको पीएस कम्पनीलाई जेसीबी पठाएर तत्काल पहिरो पन्छाउन आग्रह गरिएको बताए ।
यसैगरी बुढीगंगा नगरपालिकामा रहेको साँफे–मार्तडी सडकसँग जोडिएको गुईगाड खोला आएपछि यातायात बन्द भएका छन् ।