९ मंसिर २०८१, आईतवार
फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलबाटै बाहिरिएपछि फेरि एकपटक विश्वचर्चित खेलाडी लियोनल मेस्सीको सपना अधुरै भएको छ । सन् २००६ देखि विश्वकप खेल्न थालेका मेस्सीको विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने सपना अधुरै भएको हो ।
विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको हो । विश्वका सर्वोउत्कृष्ट खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फेरि असफल भएका छन् ।
पहिलो हाफमा १–१ गोलको बराबरीमा फ्रान्सलाई रोकेको अर्जेन्टिनाले दोस्रो हाफमा भने फ्रान्सलाई रोक्न सकेन । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले २ गोल मात्रै फर्काउन सकेको थियो । फ्रान्सविरुद्धको खेलमा मेस्सीको जादु चलेन । उनले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न भने सकेनन् ।
समूह चरणमा मुस्किलले नाइजेरियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाको यात्रा यहाँभन्दा माथि जान सकेन ।
लियोनल मेस्सीले समूह चरणअन्तर्गत नाइजेरिया बाहेक अन्य खेलमा पनि राम्रो खेल्न सकेका थिएनन् । मेस्सीले पहिलो खेलमा नै आइसल्यान्डविरुद्ध पेनाल्टी मिस गरेका थिए । उनले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको भए अर्जेन्टिनाले आइसल्यान्डलाई २–१ गोलअन्तरले विजयी हुने थियो तर, उनी पेनाल्टीमै चुकेका थिए ।
दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० गोलअन्तरले पराजित हुँदा मेस्सीले राम्रो खेल्न सकेका थिएनन् ।
लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनालाई सबै उपाधि दिलाएपनि आफ्नो देश अर्जेन्टिनाको लागि उनी सधै असफल हुँदै आएका छन् सन् २०१४ को विश्वकपको उपाधि दिलाउने अर्जेन्टिनालाई राम्रो अवसर थियो । त्यसबेला पनि अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले सम्हालेका थिए । फाइनलसम्म अर्जेन्टिनालाई पुर्याएका मेस्सी अन्तिम समयमा भने चुकेका थियो । फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुदै विश्वकपको उपाधि चुम्नबाट असफल बनेको थियो । मेस्सीले त्यसबेला पनि अर्जेन्टिनालाई उपाधि दिलाउने राम्रो अवसर खेर फालेका थिए ।