आजदेखि उपत्यकामा निषेधाज्ञा, सडकहरू सुनसान

होमल्याण्ड खबर

२०७८ बैशाख १६ गते, बिहीबार ०७:३२ मा प्रकाशित

कोरोना संक्रमणको दोस्रो लहर उच्च बन्दै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएको छ ।

सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । यो निषेधाज्ञा वैशाख मसान्तसम्म जारी रहने छ ।

निषेधाज्ञाका कारण काठमाडौँ उपत्यका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् ।

प्रहरीले अत्यावश्यक कामले बाहिर निस्केका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ ।

मास्क नलगाइ बहिर निस्किएकाहरुलाई भने प्रहरीले ठाउँठाउँमा बनाइएका होल्डिङ सेन्टरमा राखेको छ ।

निषेधाज्ञाको पूर्ण पालनका लागि सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सुरक्षाकर्मीले निषेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालनाका लागि सर्वसाधारणलाई माइकिङ्ग मार्फंत अनुरोध गरिरहेको छ ।

सरकारले तोकेअनुसार खाद्यान्न तथा तरकारी पसलहरु भने खुला रहेका छन् । सरकारको आदेश अनुसार खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।