६ जेष्ठ २०८३, बुधबार
नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठानका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको शनिबार राति निधन भएको हो ।
उनको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।