बेसार र अम्वाकाे पातसँग एक सिलिन्डर अक्सिजन ग्यास साटाैं न प्रधानमन्त्री ज्यु

होमल्याण्ड खबर

२०७८ जेष्ठ ६ गते, बिहीबार २२:२२ मा प्रकाशित

नेपालमा काेभिड-१९ काे दोस्रो लहर शुरू भएसंगै पछिल्लो केही दिनयता नयाँ संक्रमित थपिने र काेभिड संक्रमणबाट मृत्यु हुने दर तिव्र गतिमा बढिरहेको छ । काठमाडौं उपत्यका लगायत देशका अधिकांश जिल्लाहरूमा कडा निषेधाज्ञा लकडाउन गरिएको छ । जसले गर्दा हाेटल व्यावसाय, पर्यटन क्षेत्र, उधाेग, कलकारखाना,शैक्षिक संस्था लगाएत सबै क्षेत्र ठप्प छन् । विषेश गरि ज्याला मजदुरी गरेर विहान वेलुका छाक टार्ने गरिब असाहयकाे राेजिराेटी खाेसिएकाे छ । यस विषम परिस्थितिमा जनताहरू अभाव, भाेक अनि राेगसंग प्रत्यक्ष जुधिरहेका छन् ।

नेपालमा पहिलाे लहर केही मत्थर भएसंगै पुनः दोस्रो लहर आउन सक्ने सम्भाव्य जाेखिमलाई मध्यनजर गर्दै नेपाल सरकारकाे सम्पुर्ण ध्यान अस्पताल, आइसोलेशन सेन्टर, आइसियु,अक्सिजन,भेन्टिलेटर,स्वास्थ्यकर्मी ,डाक्टर, नर्सहरूकाे प्रयाप्त व्यवस्थापन संञ्चालनमा सम्पुर्ण ध्यान केन्द्रीत हुनुपर्ने थियाे । तर विडम्बना त्यसाे हुन सकेन फलस्वरूप राजनैतिक दलका नेताहरू, मन्त्रीहरू दिनानुदिन जसो सत्ता, शक्ति र कुर्सीको फाेहाेरी खेलमा रुमलिएर बन्द,हड्ताल जुलुस सभा सम्मेलन गर्न मै क्रियाशील रहे । आम जनताहरु पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै माक्स,सेनिटाइजर सामाजिक दुरी कायम नगरी आफूखुसी बलमिच्याई गरि खुलेआम भिडभाडमा सरिक हुनु लगायत यी सबै कारणहरुको नतिजा स्वरूप आज नेपालमा दोस्रो लहरको काेराेनाले भयावह अवस्था सिर्जना गरेको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा खासगरी नेपाल सरकार, राजनीतिक दलहरु, स्वास्थ्य मन्त्रालय, सरकारी तथा निजी अस्पताल सञ्चालकहरू जनस्वास्थ्यिवद्, डाक्टर, नर्स,सुरक्षाकर्मी लगायत अन्य सम्बन्धित निकायहरू बीचमा आपसी समझदारी मार्फत साझा कार्यदल बनाएर रोकथाम र नियन्त्रणमा अगाडि बढ्नुपर्ने अवस्थामा त्यसाे हुन सकेन जसको परिणामस्वरूप आज काेभिडले सबै क्षेत्र अस्तव्यस्त बनाइरहेको छ।

सरकारी तथा निजी अस्पतालमा बिरामीहरु खचाखच भरिएका छन् जसले गर्दा अक्सिजन,आइसियु, भेन्टिलेटर र बेडहरुको चरम अभावले गर्दा कैयौं बिरामीहरु उपचारको अभावमा मृत्युवरण गरेका छन् भने धेरैजसो विरामीहरु अस्पतालको पिडींमा मृत्युसँग संघर्ष गर्दै छटपटाइरहेका छन् । उनीहरूको चित्कार सुन्दा जो कसैको पनि मन थामीन सक्ने अवस्था छैन । हालसम्म नेपालमा झण्डै ४ लाख ७२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या करिब ५४०० नाघिसकेको छ । यही अवस्था कायम रहेमा आगामी साउन/भदौसम्म नेपालमा करिब ४० हजारभन्दा बढिले ज्यान गुमाउन सक्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ ।

यस्तो भयावह महामारीको अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सम्पूर्ण ध्यान कोरोना रोकथाम र नियन्त्रणमा हुनुपर्ने थियो तर बिडम्बना स्वास्थ्यमन्त्री स्वयम आफै भ्याक्सिन खरिद प्रकरणमा व्यापक कमिसन भ्रष्टचार भयाे भन्दै आफू पानी माथिको ओभानो बन्न खोजिरहेका छन् । यतिमात्र होइन राजनीतिक दलका नेताहरु सत्ता, शक्ति र कुर्चीको बहुमत अल्पमतकाे खेल, संसद अपहरण रिसाेर्ट तथा होटलहरुमा गोप्य भेला जस्ता खेलमा अलमलिनु लज्जास्पद विषय हो ।

उता विश्व समुदायले नेपालमा कोराेना नियन्त्रण बाहिर गइसकेको भन्दै चासो र चिन्ता व्यक्त गरिरहेका छन् भने यता मेरो देशको प्रधानमन्त्री, स्वास्थ्यमन्त्री नेपालमा पूर्णरुपमा काेराेना नियन्त्रणमा छ भन्दै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मिडियामा अन्तरवार्ता दिन भ्याइ नभ्याइ छ । यति मात्र हाेइन जनता अक्सिजन, आइसियु र भेन्टिलेटरकाे अभावमा मृत्युुसंग लडिरहेको बेला उता प्रधानमन्त्री के पी शर्मा ओलीले देशवासीका नाममा सम्वाेधन गर्दै “काेराेना साेराेना केही हाेइन ताताे पानी वेसार र अम्वाकाे पात उमालेर खाएमा काेराेना चैट हुन्छ´´ भनेर भ्रमपुर्ण अभिव्यक्ति दिइरहेका छन्। पक्कै पनि याे शाेभनिय विषय हाेइन ।

विश्व समुदाय यतिबेला काेराेनासंग वार कि पारको लडाई लडिरहेका छन् खासगरी विश्व महाशक्ति राष्ट्रहरू अमेरिका, बेलायत, भारत,ब्राजिल,फ्रान्स, स्पेन,इटाली लगाएतका देशहरूमा काेराेनाले धेरै मानवीय तथा जनधनको क्षति पुर्याएकाे छ साथै अर्थतन्त्रमा समेत भारि गिरावट आएकाे छ । पछिल्लो समय हाम्रो छिमेकी देश भारतमा तिव्र गतिमा काेराेना फैलिरहेकाे छ । जुन नियन्त्रण भन्दा बाहिर छ । भारतको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । त्यसैले नेपालमा थप जिउधनकाे क्षति हुन नदिन नेपाल सरकार, जनता सबै सचेत हुन जरुरी छ । विगतमा के भयाे ? के भएको न ? भनेर आरोप प्रत्याराेप गरि बस्ने समय याे पक्कै पनि हाेइन ? अब कस्तो स्वास्थ्य रणनीति अपनाउने , खाेपकाे सहज आपूर्ति कसरी मिलाउने, लकडाउन र निषेधाज्ञाकाे विकल्प कसरी खाेज्ने, स्वास्थ्य संकलन लगाउने वा नलगाउने भन्ने विषयमा सराेकारवाला सबै निकायकाे छिट्टै ध्यान पुर्‍याउन जरुरी छ । सम्माननिय प्रधानमन्त्री ज्यु लगायत सबै सराेकारवाला निकायहरूलाई म आग्रह गर्न चाहन्छु अबकाे केही महिना सबैकाे ध्यान काेराेना राेकथाम तथा नियन्त्रणमा सम्पुर्ण शक्ति प्रयोग गराैं । जति सक्दाे छिटाे खाेपकाे सहज आपूर्ति मिलाएर सबै नागरिकलाई खाेपकाे दायरामा समेटाैं । जनता बाँचे राजनीति फेरि पनि गराैंला । त्यसैले पहिला जनता बचाउने महान अभियानमा सबै मिलि हातेमालो गराैं धन्यवाद ।