६ जेष्ठ २०८३, बुधबार
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन्।
मन्त्री आलेले वितरण गरेका सिलिन्डरमा उनको तस्बिर अंकित गरिएको छ।


उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, ‘म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।’
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ।-रासस