६ जेष्ठ २०८३, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् ।
बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो भएको पनि ओलीले बताएका छन् ।उनले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको जनाउँदै जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु हुने ओलीको भनाइ छ ।


नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथा यी तथ्यसम्म पुर्याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने टांगेलगायत महानुभावप्रति ओलीले आभार व्यक्त गरे ।
उनले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रो गतिलाई, हाम्रो वेगलाई गम्भीर रुपमा व्यवधान पुर्याए पनि निराश हुन नहुने बताएका छन् ।