आजदेखि भेरोसेलको खोप लगाइने

होमल्याण्ड खबर

२०७८ जेष्ठ २५ गते, मंगलवार ०९:२५ मा प्रकाशित

नेपालमा मंगलबारदेखि कोरोना रोगविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।

देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले खोप केन्द्र र खोप अभियानको समय तोक्ने व्यवस्था गरिएको छ।

विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाका प्रमुख डा. झलक गौतमले बताए। ‘तर हामीले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएका छौं’, उनले भने।

गौतमका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतसित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।