ब्राजिल भर्सेस बेल्जियमः स्टारहरुको जमघट

होमल्याण्ड खबर

२०७५ असार २२ गते, शुक्रबार ०६:१९ मा प्रकाशित

आज राति पौने १२ बजे विश्वकपको सेमिफाइनल प्रवेशका लागि रुसको काजान एरिनामा ब्राजिल र बेल्जियम आमने सामने हुँदा स्टारहरुको जमघट हुनेछ । पाँच पटकको विश्वविजेता ब्रजिल नेइमारको प्रेरणामा छ भने चेल्सीका प्लेमेकर इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्नेछन् ।

ब्रजिलसँग नेइमारसँगै गाव्रियल जेसस, फिलिप काउटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो शिल्भा लगायका विश्वस्तरीय खेलाडीले भरिएको शशक्त टिम छ भने हाजार्डका अलावा रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिजस्टार स्टार खेलाडी रहेको ‘डार्क हर्स’ बेल्जियम पनि कम्ति बलियो छैन ।

यो बेल्जियनको गोल्डेन जेनेरेशन हो । र, यो सुनौलो पुस्ता बेल्जियमलाई पहिलो विश्वकप उपाधि दिलाउने अभियानमा छ । सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको थिएन । त्यसअघि बेल्जियमले समूह चरण पार गर्न सकेको थिएन । ब्राजिलमा भएको अघिल्लो संस्करणमा बेल्जियम क्वार्टरफाइनलमा पराजित भएको थियो ।

यता ब्राजिल छैटौं पटक विश्वकप जित्ने अभियानमा छ । सन् १९९० यता कम्तिमा विश्वकपको क्वार्टरफाइनलमा पुगेको ब्राजिल अघिकांश युवा खेलाडीको भरमा छ र उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले शुक्रबार हुने ब्राजिलबिरुद्धको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् । त्यसैले उनी मराउन फेलानीलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ ।

बेल्जियमले जापानबिरुद्धको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकालेको थियो । नसिर चाड्लीले अन्तिम मिनेटमा गरेको खतरनाक काउन्टर एट्याकले बेल्जियम क्वार्टरफाइनलमा पुगेको हो ।

२–० ले पछि परेको स्थितिमा फेलानी र चाड्ली ६५औं मिनेटमा मैदान प्रवेश गरेपछि बेल्जियमको खेल सुधारिएको थियो । उनीहरुले ड्राइज मार्टिन्स र यान्निक कारास्कोलाई प्रतिस्थापन गरेका थिए । दुवै सब्सिच्युडले गोल गर्न सकेपछि मार्टिन्सको ‘प्लान बी’ सफल भएको थियो ।

र, मार्टिनेजले प्रष्ट संकेत गरेका छन् कि फेलानी ब्राजिलबिरुद्ध काजान एरिनामा हुने क्वार्टरफाइनल खेलमा सुरुआती ११ मा पर्नेछन् ।

‘एक प्रशिक्षकका रुपमा मसँग धेरै बिकल्पहरु छन्, र त्यसलाई कतिबेला प्रयोग गर्ने मलाई थाहा छ ।’ प्रशिक्षक मार्टिनेजले भने, ‘हामी बढी फिजिकल हुनुपर्नेछ । तथा, सोमबारकै मानसिकतामा खेल्यौं भने हामी जित्न सक्छौं । हाम्रा अगाडि ठूलो अवसर छ ।’

‘यो हाम्रा खेलाडीका लागि एउटा सपनाको म्याच हो । उनीहरु यही खेल खेल्नका लागि जन्मिएका थिए । स्वभाविक रुपमा हामी जित्न चाहन्छौं, तर, हामीलाई थाहा छ यसमा कति अन्तर छ ।’

यसको विपरित ब्राजिलले मेक्सिकोलाई हराउँदै शशक्त दावेदारिता प्रस्तुत गरिसकेको छ । जहाँ कमाण्डिङ र रचनात्मक फुटबलले ब्राजिल तुफानको रुपमा अघि बढेको छ ।

नेइमार ब्राजिलका चम्किला तारा हुन् । एक गोल र अर्को गोलका लागि पासले के प्रमाणित गर्छ भने खुट्टाको शल्यक्रिया गरेलगत्तैको पहिलो प्रतियोगितामा पनि उनी उस्तै लयमा छन् ।

र पनि, उनी आफ्नो क्षमताको सही उपयोग गर्न सकिरहेका छैनन्, उन उनीबाट फुटबल समर्थकले अपेक्षा गर्छन् । संसारकै सबैभन्दा महंगा फुटबलर नेइमार मेक्सिकन खेलाडी र प्रशिक्षक जुहान कार्लोस ओसोरियोबाट आलोचनाको सामना गर्नुपरेको थियो । उनी रेफ्रीको निर्णयलाई प्रभाव पार्न मैदानमा अस्वाभाविक लड्ने गरेको वा नाटक गर्ने गरेको आरोप खेपिरहेका छन् ।

तर,ब्राजिलका महान खेलाडी रिभाल्डोले आलोचनालाई एउटा कुनामा थन्क्याएर नेइमारले जस्तो खेलिरहेका छन् त्यस्तैलाई निरन्तरता दिन सुझाव दिएका छन् । किनकि नेइमारजस्तो रचनात्मक स्ट्राइकरलाई झेल्न बेल्जियमलाई पक्कै सहज हुनेछैन ।

रिभाल्डोले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा लेखेका छन्, ‘नेइमार, तिमी हमेसा जस्तो खेल्छौ त्यस्तै खेलिराछ । अन्य मुलुकबाट आएका नकारात्मक टिप्पणीको वास्ता नगर किनभने उनीहरु विश्वकपमा छैनन् ।’

‘यदि तिमीलाई ड्रिबल गर्न मन लाग्यो त गर, यदि तिमीलाई फ्लिक गर्नुछ भने गर, तिमीले गोल गर्नुछ भने यस्तो गर्नैपर्छ । तर, तिमीलाई कसैले फल गरेर लडायो भने लड ।’

‘यसअघिका खेलमा जस्तै माथि उठ्नु , र हमेशा फुटबलका साथ मजाक गर्ने बानी जारी राख्नु ।’

ब्राजिलियन प्रशिक्षक टिटेले डिफेन्सिभ मिडफिल्डर कासिमिरोबिना मैदानमा आउँदैछ । उनी दुई पहेँलो कार्डका कारण एक खेल गुमाउनेछन् । त्यस्तै चोटका कारण डग्लास कोष्टाको उपस्थितिमा पनि सन्देह छ ।

प्लेयर्स टू वाच

नेइमार, ब्राजिल

स्वभाविक रुपमा यदि नेइमारले राम्रो खेले भने अवश्य पनि ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ । पेरिस सेन्ट जर्मेनका शशक्त स्ट्राइकर शानदार स्टार हुन् । मेक्सिकोबिरुद्धको खेलमा उनले आफ्नो लय सही तरिकाबाट पहिल्याएका थिए । निःसन्देह उनी ब्राजिललाई एक अर्को चरणमा पुर्याउनका लागि उत्सुक छन् र उनी बेल्जियमलाई ध्वस्त पार्ने क्षमता राख्छन् ।

केभिन डि ब्रुयेन, बेल्जियम

हुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको शनशनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका थिए जुन रणनीति सफल भएको थियो । कासिमेरो बाहिर रहेपछि ब्राजिलको सेन्ट्रल एरियाको कमजोरीको फाइदा ब्रुयेनले उठाउन सक्छन् ।

म्याच फ्याक्ट्स

– ब्राजिल लगातार सातौं विश्वकप क्वार्टरफाइनल खेल्दैछ । र, उनीहरु सन् २००६ मा फ्रान्स र २०१० मा नेदरल्याण्डसँग गरी २ पटकमात्र पराजित भएका छन् ।

– ब्राजिल पछिल्ला तीन विश्वकपमा युरोपेली टोलीबाट नकआउट भएको छ । सन् २००६ मा फ्रान्स, सन् २०१० मा नेदरल्याण्ड्स र सन् २०१४ मा जर्मनी ।

– रोवर्टो मार्टिनेजको प्रशिक्षणमा इडेन हाजार्ड बेल्जियमको पछिल्लो १८ खेलका १९ गोलमा प्रत्यक्ष सहभागी छन् । उनले १० गोल गरेका छन् भने ९ गोलका लागि अवसर सृजना गरेका छन् ।