काठमाडौँ उपत्यकाको निषेधाज्ञामा आजदेखि केही खुकुलो (के गर्ने के नगर्ने सूचिसहित)

होमल्याण्ड खबर

२०७८ असार १ गते, मंगलवार ०९:१४ मा प्रकाशित

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको समय फेरि थप गरिएको छ । थप गरिएको निषेधाज्ञा आजदेखि असार ७ गतेसम्मका लागि लागू हुने जनाइएको छ ।

यसअघि तोकिएको निषेधाज्ञाको अवधि गएराति १२ बजेबाट सकिएसँगै आजदेखि फेरि ७ दिनको समय थपिएको हो । यसपटक थपिएको निषेधाज्ञालाई भने केही खुकुलो बनाइएको छ ।

आजबाट तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि यी सेवा विहान ९ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था रहेको थियो ।

यस्तै सरसफाइमा प्रयोग गरिने मास्क, साबुन, स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बिउलगायत सामग्री ढुवानी गर्दा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ देखि बिहान ११ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाइनेछ ।

निर्माण सामग्री ढुवानीका लागि सवारी–साधन राति ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेलगायत व्यवस्था रहेको छ ।

यस्तै अबदेखि मर्निङवाकमा निस्कनेहरुलाई पनि प्रहरीले रोक्ने छैन । तर बाहिर हिँड्डुल गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ ।

यस्तै आजदेखिको निषेधाज्ञामा विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) अपरान्ह ४ बजेदेखि खोल्न पाइनेछ । होटलमा ‘टेक अवे’ सेवा गर्न पाइने छ भने अनलाइन डेलिभरीका लागि होटलहरुले बिहान ७ बजेदेखि काम गर्न पाउने छन् ।