बेल्जियमको लगातार दोस्रो जित

होमल्याण्ड खबर

२०७८ असार ४ गते, शुक्रबार ०७:११ मा प्रकाशित

युरोकप फुटबलामा बेल्जियमले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति कोपनहेगनको पार्केन रंगशालामा भएको खेलमा डेनमार्कलाई २–१ गोलले हराउँदै बेल्जियम लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियमका लागि थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक–एक गोल गरेका थिए । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा डेनमार्कका पाउलसेनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफ १–० गोलले अगाडि बढेको खेलमा दोस्रो हाफको ५५औँ मिनेटमा बेल्जियमका हाजार्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७१औँ मिनेटमा ब्रुएनाले गोल गरेपछि बेल्जियम २–१ गोलले विजयी भयो ।

यो जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियम २ खेलबाट ६ अंकसहित समूह तालिकाको शीर्ष स्थानमा रहेको छ ।  पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्क भने आफ्ना दुवै खेलमा पराजित भएको छ । यसअघिको खेलमा डेनमार्क फिनल्यान्डसँग १–० ले पराजित भएको थियो ।