६ जेष्ठ २०८३, बुधबार
काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न अधिकारीहरुको बैठक बस्न लागेको हो ।
आजको बैठकमा पछिल्लो पटक असार ७ गते थपिएको निषेधाज्ञाको समय भोलि सकिने भएकाले त्यसपछिको निषेधाज्ञालाई कुन स्वरुपमा अगाडि बढाउने भन्ने विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।


अघिल्लो साता कोरोना संक्रमण र मृत्युको दरमा केही कमी आएपछि आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले निषेधाज्ञा खुकुलो बनाइएको थियो । जसमा खाद्यान्न तथा निर्माण सामग्रका पसल लामो समयसम्म सञ्चालन गर्न दिइएको थियो ।
यस्तै निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालनमा आइसकेका छन् भने विभिन्न किसिमका पसल पनि फरक–फरक दिनमा फरक–फरक समयमा खुलिसकेका छन् ।
अहिले खाद्यान्न, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरीमात्र), स्टेशनरी प्रत्येक दिन बिहान ११ बजेसम्म सञ्चालनमा रहेका छन् ।
यातायात व्यवसायीले सार्वजनिक यातायात खुलाउन दबाब दिए पनि तत्काल खुला गर्ने अवस्था नरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको सुझाबलाई आधार मानेर बाँकी निर्णय गर्ने उनको भनाइ छ ।
यसैबीच, स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले निषेधाज्ञा केही खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण चक्र अझै नतोडिएकाले जोखिम कायमै रहेको जनाएको छ । मन्त्रालयले अत्यावश्यक नभएसम्म अझै पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
यस्तै निस्कनै परे सधैँ मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न भनेको छ ।