६ जेष्ठ २०८३, बुधबार
काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि लाग्दै आएको निषेधाज्ञा आजबाट निकै खुकुलो बनाइएको छ । काठमाडौँ, लतिपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको हिजो बसेको बैठकले निषेधाज्ञालाई निकै खुकुलो बनाउँदै असार २१ गतेसम्मका लागि थप गरेको छ ।
थप गरिएको निषेधाज्ञामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणका कारण वैशाख १६ गतेदेखि लागेको निषेधाज्ञाका कारण बन्द रहेका २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस सेवा सञ्चालन गर्न दिने निर्णय सँगै आजदेखि बस सेवा सुचारु भएको छ ।


यस्तै आजबाट खाद्य पसल बिहान ६ देखि तथा अन्य पसल पनि बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
तर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहारी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून,ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।
यस्तै, खुल्ला स्थानमा मासिनहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महत्सोव, भोज–भतेर आदि पनि पाइने छैन । विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने यसअघिको नियम कायमै रहेको छ ।
शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न पाउने छैनन् ।