युरोकप फुटबल : स्पेन क्वाटरफाइनलमा प्रवेश

होमल्याण्ड खबर

२०७८ असार १५ गते, मंगलवार ०८:१६ मा प्रकाशित

युरोकप फुटबलमा स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई ५–३ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा उक्लिएको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै पक्षबाट ३–३ गोल भएपछि खेले अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा स्पेनका पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक–एक गोल गरेका थिए ।

यस्तै क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक–एक गोल गरेका थिए । एक गोल भने स्पेनबाट आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

खेलको २०औँ मिनेटमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेपछि क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै ५७औँ मिनेटमा अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २–१ गोलको अग्रता दिलाए । ७७ औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि ८५औँ मिनेटमा क्रोएसियाका मिस्लाभले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । यस्तै खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका मारियोले गोल गरेपछि दुबै टोलीको ३–३ गोलको बराबरी भयो ।

त्यसपछि थप कुनै गोल नहुँदा खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको १००औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरेका थिए । त्यसपछि १०३औँ मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई ५–३ गोलको जित दिलाए ।

यो जितसँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।