निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ असार ३१ गते, बिहीबार ०८:२३ मा प्रकाशित

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका बारेमा निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को बैठक आज बस्दै छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिउँसो बस्ने बैठकले निषेधाज्ञाको समय थप गर्नुका साथै अझै खुकुलो बनाउने विषयमा छलफल तथा निर्णय गर्ने छ ।

अबको निषेधाज्ञामा लामो दूरीका यातायात पनि खोल्ने विषयमा छलफल हुने बताइएको छ । यस विषयमा स्वास्थ्यकमी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल भइरहेको बताइएको छ ।

यसअघि काठमाडौँ उपत्यकामा चल्ने सबै सवारी साधनहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालन गर्न दिइएको थियो ।

यसअघि थपिएको निषेधाज्ञाको अवधि आज मध्यरातबाट सकिँदै छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।