५ जेष्ठ २०८३, मंगलवार
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।
यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोजर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।


यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप आइरहेको जानकारी दिए। सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।
यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।
यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ ।
असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।