११ मंसिर २०८१, मंगलवार
भक्तपुर । भक्तपुरमा भीषण वर्षाले जनजीवन अस्तव्यस्त पारेको छ । बुधबार रातिदेखि निरन्तर परेको भीषण वर्षाले डुबान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ।चाँगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको हो । स्थानीय प्रशासनले जनाएको छ । अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ । बाढीले खोला आसपासका क्षेत्र डु बानमा परेको छ ।
भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए ।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दाले बताए ।