५ जेष्ठ २०८३, मंगलवार
बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्। जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो।
मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो। मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ।

