टेकु अस्पतालमा कोरोना खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल

होमल्याण्ड खबर

२०७८ श्रावण ७ गते, बिहीबार १४:३७ मा प्रकाशित

टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक युवकले गएराति १२ बजेदेखि नै लाइनमा बसिरहेको बताए । टेकु अस्पतालबाट खोप लगाएको प्रमाण पत्र लिन आएकाहरुको लामो लाइन छ ।

कोरोना संक्रमणबाट जोगिन एकअर्काबीच दुरी कायम गर्नुपर्ने भए पनि त्यो नियम यहाँ पालना भएको छैन । खोप लगाएको प्रमाणीकरण टेकु अस्पतालबाट मात्र हुने भएकाले प्रमाणपत्र लिन आउनेहरुले सास्ती व्यहोर्दै आएका छन् ।