१० मंसिर २०८१, सोमबार
नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक–२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत शनिबार छनोट चरणमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्दै अर्को कीर्तिमान बनाउन सफल भएकी हुन् । उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सागमा उनी चौंथो भएकी थिइन् ।
टोकिया–२०२० अन्तर्गत शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले ६१६.८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् ।
छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।
कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् । उनले समग्रमा ६१६.८ स्कोर गरिन् ।
कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी सहभागी छन् ।
अब चार खेलाडीको प्रतिस्पर्धा बाँकी रहेको छ ।