५ जेष्ठ २०८३, मंगलवार
वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उनले सो जानकारी दिएका हुन् ।
लिच्छवि र मल्लकालीन सम्पदा पुनः निर्माणका लागि नेपाली मौलिकता र सांस्कृति झल्किने गरी पुनःनिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।
चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्य अनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा गरे ।


हेटौँडा, भरतपुर, काठमाडौँ, बनेपा, त्रिशूली र सिन्धुलीमा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण आगामी वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको, त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरीयामाईमा रहेको १०४ वर्ष पुरानो करिब २०० मिटर लामो सुरुङमार्ग पुनः सञ्चालनका लागि काम थालिएको र काठमाडौंँ उपत्यकाबाहेक १० जिल्लामा कृषि उत्पादन भण्डारण गर्न १० वटा वातावरणीय शीत भण्डार गृह निर्माणका साथै हेटौंडास्थित सिसौँंघारीमा धुलो दूध उत्पादनका लागि जोड दिइएको उनको भनाइ थियो । रासस