आजदेखि ३ दिन वर्षाकाे सम्भावना, सावधानी अपनाउन आग्रह

होमल्याण्ड खबर

२०७८ श्रावण ११ गते, सोमबार ०९:२५ मा प्रकाशित

मनसुन सक्रिय भई आजदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

वर्षाा गराउने न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले आजदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

आइतबार रातिदेखि उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुगेकाले मनसुन सक्रिय भएकाले बुधबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।