गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला प्रस्थान गर्दै

होमल्याण्ड खबर

२०७८ श्रावण १८ गते, सोमबार ११:०० मा प्रकाशित

गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज (सोमबार) दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला जाँदै छ । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।
भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास नगरपालिका २ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न मन्त्रालय आइतबार टोली गठन गरेको थियो । भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।