५ जेष्ठ २०८३, मंगलवार
जापानले नेपाललाई दिने भनेको १६ लाख डोज एस्ट्राजेनेका खोप मध्ये झण्डै ४ लाख खोप नेपाल आईपुगेको छ ।
कतार एयरवेजको विमानबाट शनिबार बिहान खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो । १६ लाख डोज खोपमध्ये शनिबार झण्डै ४ लाख आइपुगेको छ भने ४ लाख आईतबार र बाँकी ८ लाख डोज खोप पनि यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ ।


हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ आइसकेको छ ।
कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान शुरु हुनेछ । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए ।
उनका अनुसार २५ गते सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ । प्रदेश–१ र प्रदेश–२ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उनने बताए ।
गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।
पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् ।