१० मंसिर २०८१, सोमबार
बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आज बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन् ।
क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेस्सीले सम्मेलनमा बोल्न लागेका हुन् ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेसीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताएपछि मेस्सीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।
बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठूलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताएका छन् ।
अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।
सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।
मेस्सीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।