वैशाखदेखि रोकिएको लाइसेन्स परीक्षा सञ्चालन हुने

होमल्याण्ड खबर

२०७८ भाद्र ११ गते, शुक्रबार १५:५२ मा प्रकाशित

कोरोनाका कारण वैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र लाइसेन्स परीक्षा सञ्चालन गरिने भएको छ । यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई कारोना स्वास्थ्य सुरक्षा मापदण्डसहित एक साताभित्र चालक अनुमतिपत्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागले बिहान र दिउँसो दुई सिफ्टमा विभाजन गरी परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ । एक सिफ्टमा ५० जना मात्रै परीक्षार्थी राख्न पाइने छ । यसरी परीक्षा गराउँदा देशभरका यातायात कार्यालयबाट दैनिक चार हजारभन्दा बढीलाई परीक्षामा सामेल गराउन सकिने छ ।विभाग

का सूचना अधिकारी लोकनाथ भुसालले लामो समय परीक्षा रोक्दा आवेदन भर्नेको संख्या लाखौँ पुगिसकेको बताए । उनले केही समय नयाँ आवेदन फारम रोकेर भए पनि फारम भरिसकेकाहरूको लिखित र प्रयोगात्मक परीक्षा लिन आवश्यक देखिएको जानकारी दिए ।