महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

होमल्याण्ड खबर

२०७८ भाद्र १४ गते, सोमबार १६:३० मा प्रकाशित

तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।

युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरमैला उठेका छैनन् ।

जसका कारण घर तथा कार्यालयमा फोहोर थुप्रिएपछि मानिसहरुले सडक किनारमा फालेका छन् । सडकमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।