महानगरले नसकेपछि नागरिक अभियानद्वारा काठमाडौँको फोहोर आफै सिसडोल पुर्‍याउन सुरु

होमल्याण्ड खबर

२०७८ भाद्र १५ गते, मंगलवार १३:२२ मा प्रकाशित

नागरिक अभियन्ताहरू आफैँले काठमाडौँको फोहोर सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका छन् । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले विगत २५ दिनयता काठमाडौँ उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौँको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका हुन् ।

काठमाडौँको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए । उनले वर्षायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु–याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे ।अभियन्ता मानवले भने, ‘काठमाडौँ महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔँ भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरूले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आए पनि यो समस्या समाधान हुन सकेन ।

त्यसैले काठमाडौँको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु । ’सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमति सफाइ अभियान, महाराजगन्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन् । अभियानमा सहभागी भएका अभियन्ताहरूले ‘म मेरो देश फोहोर गर्दिनँ’ लेखिएका प्लेकार्डहरूसमेत प्रदर्शन गरेका थिए ।