सरकारले भारतलाई पठायो कूटनीतिक नोट, कुन-कुन विषय समेटिय

होमल्याण्ड खबर

२०७८ भाद्र २२ गते, मंगलवार ११:१३ मा प्रकाशित

सरकारले दार्चुलामा तुईनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा भारतीय हेलिकप्टर उडाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ । दुवै नोट कूटनीतिक च्यानल मार्फत पठाइएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गत साउन १५ गते तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुई काटिदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनापछि नेपालमा भारतको चर्को विरोध हुँदै आइरहेको छ । सरकारले घटना छानबिनका लागि समितिसमेत गठन गरेको थियो ।

गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

जसमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका थिए ।

समितिले गत १५ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले पनि घटनामा भारतीय एसएसबीको संलग्नता रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले यो विषयमा भारतसँग कूटनीतिक तवरबाट छलफल गर्न सुझावसमेत दिएको थियो ।

यस्तै यहि घटनाकाबीच भारतीय हेलिकप्टर नेपाली भूमिमाथि उडिरहेको भिडियो पनि सार्वजनिक भएको थियो । जसलाई लिएर पनि भारतको नेपालमा चर्को विरोध भइरहेको छ । गत १८ गते लगातार केहि दिनदेखि भारतीय हेलिकप्टर नेपाली आकाशमा उडिरहेका तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

तुईन प्रकरणमा सरकारले चासो दिएर समिति गठन गरेपछि भारतले नेपालमा नेपाली आकाश नै प्रयोग गरेर निगरानी गरिरहेको स्थानीयले बताएका छन् ।