४ जेष्ठ २०८३, सोमबार
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि आज बिहान काठमाडौं आइपुगेका छन्।
कतार एयरवेजबाट उनीहरू बिहान काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू सिधै कमलपोखरीस्थित मेरियट होटलमा गएका छन् । उपाध्यक्ष सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ।


नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक(आर्थिक विकासका लागि २०७४ साल भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट पहिलो पटक भएको यो तहको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।
चार वर्षअघि सम्झौता भएपनि संसदबाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले यसले लक्ष्य गरेका विकास आयोजनाको काम अघि बढ्न सकेका छैनन् । ३१२ किमी उच्च क्षमताको विद्युत् प्रसारणलाइन र अन्तरदेशीय विद्युत् व्यापार संरचनाका साथै सडक स्तरोन्नति गरी दुई परियोजना एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर समकारक कोषमार्फत् कार्यान्वयन गर्ने सम्झौता छ ।