१० मंसिर २०८१, सोमबार
युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि समूह ‘ई’ अन्तर्गत खेलमा बायर्नले बार्सिलोनालाई ३/० ले पराजित गरेको हो ।
बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले लरेय सानेको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा लेवान्डोस्कीले जमल मुसिएलाको पासमा गोल गोल गर्दै अग्रता दोब्बर पारे । लेवान्डोस्कीले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले शानदार जित हात पारेको हो ।
क्लब लेजेण्ड लिओनल मेसीले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित भएको हो । समूह ‘ई’ कै अर्को खेलमा बेनफिका र डिनामो किभले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।